चुनावका कारण फागुनको सुरूवाटै फिल्म रिलिज प्रभावित बनेको छ । निर्वाचन मिति तोक्नु अगाडि फागुन १ गते ५ फिल्मले प्रदर्शन मिति तोकेका थिए । तर निर्वाचन घोषणा भएपछि ‘कल्ली’ र ‘लालीबजार’ पछि हटे । बाँकी रहेका तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ मात्र रिलिज भए । ‘लालीबजार’ सरेर वैशाख २८ मा पुगेको छ भने ‘कल्ली’ले नयाँ मिति तय गर्न बाँकी छ । प्रदर्शनमा आएका फिल्मले पनि सोचेजस्तो दर्शक पाउन सकेका छैनन् ।
हुन त राजनीति र फिल्म दुवै मानिसको मनोविज्ञानलाई प्रभाव पार्ने विषय हुन् । जब–जब राजनीति मैदानमा उत्रिन्छ, तब मनोरञ्जनको क्षेत्र ओझेलमा पर्ने गर्छ । त्यसैले पनि फागुन १ पछि रिलिज फिल्मको भिड छैन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा फागुन ८ गते खाली देखिएको छ भने १५ मा एक ‘प्रवासी जीवन’ मात्र छ । फागुन २१ मा निर्वाचन मिति भएकाले फागुन २२ मा कुनै फिल्म छैन । फागुनको अन्तिम साता अर्थात् २९ गते भने एक फिल्म ‘लालिमा’ प्रदर्शनमा आउने तयारीमा छ । निर्वाचन भएपनि मतगणना सकिएन भने ‘लालिमा’को प्रदर्शन पनि प्रभावित हुनसक्छ ।
फागुनमा रिलिजमा देखिएको असरलाई लिएर अभिनेता तथा चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने पनि चिन्तित छन् । उनी फागुनमा फिल्म नहुनुको मुख्य कारण निर्वाचनकै डर भएको बताउँछन् ।
‘विगतका वर्षहरूमा फागुन फिल्म रिलिजका लागि निकै व्यस्त महिना हुने गर्थ्यो, तर यसपालि ९ र १५ गतेका एक पनि फिल्म छैन’, लामिछाने भन्छन्, ‘यो सबै निर्वाचनकै प्रभाव हो । मेकरहरूमा निर्वाचनको माहोलका कारण दर्शकहरू हलसम्म आउँदैनन् कि भन्ने एउटा आकलन छ, जसले गर्दा उनीहरूले यो समयमा रिस्क लिन चाहेनन् ।’ उनी अहिले चलिरहेका फिल्महरूको व्यापार उत्साहजनक नहुनुको कारण पनि नजिकिँदो निर्वाचन भएको उनको बुझाइ छ ।
- के होला यी फिल्म ?
निर्वाचन नजिकिँदै गर्दा फिल्म हलहरूमा दर्शकको कमी अहिलेदेखि नै देखिन थालेको छ । चुनावी चटारोका कारण फिल्म क्षेत्र सुस्ताउँदा आगामी फागुन १५ र २९ गते प्रदर्शनको तयारीमा रहेका दुई फिल्म ‘प्रवासी जीवन’ र ‘लालिमा’ तोकिएकै मितिमा आउँछन् वा सर्छन् अन्योल छ । फागुन १५ गते निर्वाचन प्रचारप्रसारको पिक समय हो भने २९ गतेसम्म मतगणनाको परिणाम आउने क्रम नसकिन पनि सक्छ । यस्तो राजनीतिक सरगर्मीका बिच फिल्म रिलिज गर्नु निर्माताका लागि ठुलो जोखिम हुनसक्छ ।
‘प्रवासी जीवन’ अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म हो । फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शन हुने भनिएको यस फिल्मले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ । श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा हमालका साथै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतको अभिनय छ ।
यस्तै, फागुन २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ तीन हजार यौनकर्मीको वास्तविक अनुभव र भोगाइमा आधारित भएर निर्माण गरिएको छ । रोशन मिराजको निर्देशन रहेको फिल्ममा रोशनी कार्की, शिशिर बाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलाको मुख्य भूमिका छ ।

No comments:
Post a Comment