काठमाडौँ । अभिनेता नरेन खड्कालाई यतिबेला उत्साहसँगै भय छ । कारण हो- डेढ वर्षपछि उनको नयाँ फिल्म रिलिज हुँदैछ ‘बिगुल’ । शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मलाई उनले आफ्नो अभिनय यात्राको परिपक्व मोड मानेका छन्, त्यसैले उत्साहित छन् । साथै दर्शकले फिल्मलाई कसरी लेलान् भन्ने एक किसिमको डर पनि मनमा छ ।
‘जति नै समय यो क्षेत्रमा बिताएपनि नयाँ फिल्म आउँदा एक किसिमको भय चाहिँ हुने रहेछ,’ १२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय नरेन भन्छन्, ‘हरेक फिल्म सफल हुनु कलाकारका लागि महत्त्वपूर्ण रहेछ ।‘ त्यसैले उनी फिल्म सफल बनाउने प्रयासका लागि प्रचारमा राम्रैसँग जुटेका छन् ।
रातोपाटीसँगको भेटमा नरेनले ‘बिगुल’ नेपाली समाजको राजनीतिक पाटोको कथा भएको बताए । अहिलेसम्मको फिल्म यात्रामा उनले धेरै काल्पनिक (फिक्सन) कथाहरूमा काम गरे । तर ‘बिगुल’ भने नन फिक्सन कथा भएको उनी बताउँछन् । फिल्मको स्क्रिप्ट हातमा पर्दा उनलाई लाग्यो, यो कथाले नेपाली समाजको एउटा यस्तो पाटोलाई छोएको छ, जुन धेरैका लागि आफ्नै भोगाइ हुन सक्छ ।
‘मैले अहिलेसम्म गरेको फिल्म भन्दा यो अलिकति फरक छ । यो पूर्णतः ग्राउन्ड लेभललाई छोएको फिल्म हो,’ नरेन भन्छन्, ‘अहिलेको समसामयिक परिवेशलाई सूक्ष्म तरिकाले फिल्ममा चित्रण गरिएको छ ।’
फिल्मको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । देशको पूर्वदेखि पश्चिमसम्म पुग्दा धेरै ठाउँमा ट्रेलर र टिजर प्रोजेक्टरबाट देखाएर दर्शकको प्रतिक्रिया संकलन गर्न भ्याए नरेनसहित फिल्मको टिमले ।
फिल्ममा नरेनले ‘विवेक’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । ‘विवेक यस्तो पात्र हो, जो अञ्जानमै राजनीतिको गहिरो भूमरीमा फस्न पुग्छ,’ पात्रबारे उनी खुल्छन्,’ ‘नेपाली राजनीतिमा शक्ति र स्वार्थको खेलले कसरी एउटा सामान्य व्यक्तिको जीवनलाई प्रभावित पार्छ भन्ने कुरा विवेकको माध्यमबाट देखाइएको छ ।’
फिल्ममा विवेक पात्रको भूमिका चुनौतीपूर्ण र सन्देशमूलक भएको उनी सुनाउँछन् । उनी अगाडि भन्छन्, ‘यो पात्र सुरुमा राजनीतिक दाउपेचको सिकार हुन्छ, तर समयक्रमसँगै उसले आफूमाथि भएको अन्याय र समाजको बेथितिविरुद्ध विद्रोहको आवाज उठाउन थाल्छ । ऊ आम जनताको प्रतिनिधि आवाज बनेर देखापर्छ ।‘
एक सामान्य युवक कसरी परिस्थितिको बाध्यताले विद्रोही बन्छ भन्ने फिल्मको मुख्य कथा भएको नरेन सुनाउँछन् । ‘एउटा सामाजिक र राजनीतिक संवेदना बोकेको प्याकेज हो । यसमा मनोरञ्जन मात्र छैन, पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्वको भाव पनि छ,’ उनी भन्छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मले आफ्नो करिअरलाई नयाँ गति दिने उनको अपेक्षा छ । रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, नीर शाह, रमेश बुढाथोकी, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डितलगायतका कलाकारको मुख्य अभिनय छ । फिल्ममा उनको जोडी अभिनेत्री बेनिशा हमाल बनेकी छिन् । हमालसँगको सहकार्य उनका लागि नयाँ र सुखद् रह्यो ।
_Rmm0aW5wGF.jpg)
‘हामी साथीको रुपमा धेरै वर्षदेखि चिनजानमा थियौँ, तर प्रोफेसनल लाइफमा बेनिशा एकदमै सिन्सियर कलाकार हुन्,’ उनी अगाडि भन्छन्, ‘हमालसँग काम गर्दा एउटा सकारात्मक ऊर्जा पाइन्छ ।’ कलाकारहरूबिचको सहजीकरण र कामप्रतिको इमानदारिताले नै फिल्म राम्रो हुने उनको बुझाइ छ ।
नरेनले सन् २०१३ मा रेखा थापाको जोडीको रुपमा ‘हमेशा’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए । अहिलेसम्म १३ फिल्ममा काम गरेका उनको करिअरको एउटा रोचक पक्ष के छ भने उनले हरेक फिल्ममा नयाँ–नयाँ अभिनेत्रीसँग काम गर्ने अवसर पाएका छन् । रेखा थापादेखि रजनी केसी, वर्षा राउत, सुरक्षा पन्त र अहिले बेनिशा हमालसम्म आइपुग्दा उनले थुप्रै प्रतिभाहरूसँग स्क्रिन सेयर गर्ने मौका पाए । उनको इच्छा रेखा थापासँग फेरि दोहोर्याएर काम गर्नेछ । ‘मलाई रेखासँग फेरि काम गर्न मन छ, तर मौका नै मिलेको छैन । त्यो दिन अवश्य आउला,’ उनी भन्छन् ।
_akG3d00CKY.jpg)
अग्लो कद र सुगठित शरीरका धनी नरेन सन् २०१० तिर फेसन शोबाट ग्ल्यामर दुनियाँमा भित्रिएका हुन् । त्यसपछि २०० बढी म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरेका उनले यमआर्ट थिएटरमा वीरेन्द्र हमालसँग र भारतमा अनुपम खेरको स्टुडियोमा अभिनय प्रशिक्षणपछि मात्र फिल्ममा हामफालेका हुन् ।
नरेन अहिलेसम्मको फिल्ममा चकलेटी र गम्भीर भूमिकामा देखिएका छन् । तर व्यक्तिगत रुपमा उनी एक्सन फिल्मको ठुलो प्रशंसक हुन् ।
‘म निखिल उप्रेती र विराज भट्ट दाइहरूको एक्सनबाट प्रभावित भएर यो क्षेत्रमा आएको हुँ’, उनी सुनाउँछन्, ‘तर अहिलेसम्म मैले एउटा पूर्ण एक्सन फिल्म खेल्ने मौका पाएको छैन । एक पटक अवसर त मिलोस्, एक्सन फिल्मको लाइन लाग्ने गरेर काम गर्छु ।’
पछिल्लो समय नेपाली फिल्म उद्योग पहिलेको तुलनामा निकै बदलिएको र चुनौतीपूर्ण भएको उनले अनुभव गरेका छन् । ‘अहिले संघर्ष पहिलेभन्दा कडा छ । नयाँ आउने कलाकारहरू धेरै स्मार्ट र तयारीका साथ आएका छन्’, उनी भन्छन्, ‘हामीले पनि आफूलाई समय अनुसार बदल्न र अझ धेरै मेहनत गर्न जरुरी छ ।’


No comments:
Post a Comment