- हालैको एक साँझ क्यालिफोर्निया विश्वविद्यालयमा पियानोवादक निकोलस नामोराड्जेले मधुर धुनहरू बजाइरहँदा उनको टाउकोमाथि एउटा पर्दामा अनौठो दृश्य देखियो । त्यहाँ उनको मस्तिष्कको एउटा तस्बिर थियो । जसलाई प्राविधिक भाषामा ‘ग्लास ब्रेन’ नाम दिइयो ।
निकोलसले पियानो बजाउँदा त्यहाँ प्रकाशका रंगीचंगी तरगंहरू यताउता सरेको देखिन्थ्यो । उनले पियानोको एउटा–एउटा ताल बजाउँदा ग्लास ब्रेनमा पनि विभिन्न रङका बादलहरू बनेझैं देखिन्थ्यो ।
अहिले त्यो दृश्यले वैज्ञानिकहरूलाई निकै उत्साहित बनाएको छ । किनकि आजको दिनसम्म धेरैजसो अध्ययनहरू संगीत सुन्ने मानिसको बारेमा मात्र हुन्थे । संगीत बजाइरहँदा दिमागमा के हुन्छ भन्ने कमै अध्ययन भएको थियो । साथै ठोस कुरा पत्ता लगाउन गाह्रो थियो । त्यसमा सबैभन्दा ठूलो चुनौति प्राविधिक पाटो थियो । किनकि भारी मेसिनभित्र बसेर संगीत बजाउन सम्भव थिएन । तर अहिले नयाँ प्रविधिको सहयोगले यो सम्भव भएको हो ।

त्यसका लागि उनले स्टेनवे स्पिरियो नाम गरेको आधुनिक पियानो बजाएका थिए । यसमा उनले बजाएको हरेक धुन दुरुस्तै रेकर्ड गर्न सक्ने समार्थ्य हुन्छ । सुरुमा उनले उक्त पियानोमा आफ्नो सांगीतिक प्रस्तुति रेकर्ड गरे । त्यसपछि त्यही रेकर्डिङ बजिरहँदा उनले पियानोमा आफ्नो औंला मात्र खेलाए । अर्थात् फिंगर-सिन्किङ मात्र गरे । यसो गर्दा एउटै धुन बारम्बार बजाउन सजिलो हुन्थ्यो । अनि, यही तरिका अपनाएपछि वैज्ञानिकहरूलाई उनको दिमागको अवस्था (ईईजी डेटा) एकदमै सरल तरिकाले अध्ययन गर्ने मौका मिल्यो ।
त्यसको अध्ययन समेत गरेका वैज्ञानिक थिओडोर जान्टोका अनुसार संगीतले मानव मस्तिष्कका धेरै क्षमताहरूलाई एकैसाथ सक्रिय बनाउँछ । यसमा धारणा, चाल, स्मृति, ध्यान र भावना सबै पर्छन् । यसै गरी हरेक धुन अनुसार मस्तिष्कका विभिन्न क्षेत्रहरू पनि उसै गरी सक्रिय हुन्छन् । र, त्यही प्रक्रियाको प्रतीकात्मक शैली नै ग्लास ब्रेनमा रंगीन देखिएको हो । खासमा ती निकोलसको मस्तिष्क भित्र भइरहेको विद्युतीय गतिविधि हुन् ।
यस प्रयोगले वैज्ञानिकहरूलाई एउटा नयाँ बाटो खोलिदिएको छ । विशेषत: संगीत मनोरञ्जन मात्र नभएर यो मानव मस्तिष्कको सबैभन्दा परिष्कृत र जटिल अभिव्यक्तिको माध्यम हो भन्ने कुरा पुष्टि गरेको छ ।
अब वैज्ञानिकहरू भविष्यमा ‘ग्लास ब्रेन’ मात्र नभई ‘ग्लास बडी’ बनाउने सोचमा छन् । त्यसपछि संगीत बजाउँदा मस्तिष्कसँगै मुटुको गति, छालाको संवेदनशीलता र पाचन प्रणालीमा कस्तो असर पर्छ भन्ने कुराको अध्ययन गर्न सकिने बताइएको छ ।
न्यू योर्क टाइम्सबाट
No comments:
Post a Comment